एमालेले एक्लै ७० प्रतिशत स्थानीय तह जित्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नुभएको छ । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो ।

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भन्नुभयो, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गर्नुभयो । ‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भन्नुभयो ।

अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिनुभयो । उहाँले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउनुभयो । ‘नेकपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने ? भनेर’, ओलीले भन्नुभयो, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’

कम्युनिस्ट एकता बेकारको कुरा भएको पनि उहाँले बताउनुभयो । कम्युनिस्ट सरकार ढाल्ने पनि कम्युनिस्ट रु ओलीको प्रश्न छ । दुई तिहाइ नजिक पुगेको पार्टीलाई चोइट्याउने त्यस्ता कम्युनिस्ट हुन्छन् ? भ्रम राख्नुहुन्न’, ओलीको भनाइ छ । नेता भुसालले कम्युनिस्टहरु नमिले समाप्त हुने लेख लेख्नुभएको थियो । उहाँले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गर्नुभयो । ‘कम्युनिस्ट सरकार ढाल्ने, फुटाउने प्रतिकृयावादीका पछि लाग्ने तलुवा चाट्ने र प्रसाद खानेलाई कम्युनिस्ट के को हुने ? ’ ओलीको प्रश्न छ । उहाँले ५ दललाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको पनि बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार