हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ : घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताउनुभएको छ ।

घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताउनुभयो । प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ। पछिल्लो समय भारतमा कोइलाको अभावले पावर प्लान्टले बिजुली उत्पादन गर्न नसक्दा खुला बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ।

खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन।

त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५–१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ। नेपालले बिहारबाट पनि छुट्टै सम्झौता गरेर २०० भन्दा बढी बिजुली आयात गरिरहेको छ।‘मंगलबार बेलुकाचाहिँ बिहारबाट आउने २०० मेगावाट बिजुली पनि अचानक रोकिएपछि समस्या भएको हो,’ कुलमानले भन्नुभयो,‘बुधबार बिहानदेखि बिहारबाट पनि बिजुली आउन थालिसकेको छ।’

एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग भन्दा बिहारसँग प्राधिकरणले केही महंगोमा बिजुली किन्ने समझौता गरेको थियो।बिहारसँगको सम्झौताकै आधारमा प्राधिकरणले खुला बजारमा पनि प्रतियुनिट भारू ८ रुपैयाँमसम्म बिजुली किन्न खोजेको छ। तर मंगलबार नेपालले भनेजति मूल्यमा बिजुलीको भाउ आएन। दिनभरिको औसत मूल्य नै भारू ११.७५ पुग्यो।‘आज भाउ बढाएर भए पनि बिडिङ गर्छौं। साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउँछौं,’ कुलमानले भन्नुभयो।

अहिले नेपालमा साँझको पिक आवरमा बिजुलीको माग १६ सय मेगावाटभन्दा बढी छ। साँझको माग पूरा गर्न दिनभरि पानी जम्मा पारेर त्यही बेला पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने गरिएको छ।अहिले कुलेखानी, मर्स्याङ्दी र तामाकोशी साँझको समयमा पूर्ण क्षमतामा चल्ने गरेका छन्।‘यो आयोजना दिउँसो नचलाउन हामीलाई भारतबाट बिजुली ल्याउनुपर्छ। दिउँसोको मूल्य पनि पिक आवरको जति महंगो हुँदैन,’ घिसिङले भन्नुभयो,‘आजबाट हामी बढी पैसा तिरेर भएपनि बिजुली ल्याउँछौं।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार