नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले कोरोनासँगै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गर्नुभएको हो ।

उहाँले पछिल्लो समयमा क्षयरोग नेपालमा घातक बन्दै गएको बताउनुभयो । देशमा क्षयरोग सातौं घातक रोगको रुपमा रहेको उहाँले बताउनुभयो । दशकौंं पश्चात नेपालमा क्षयरोगका कारण मृत्युदर सन् २०२० मा बढ्दै गएको तथ्याङ्क रहेको उहाँको भनाई छ । ‘विश्व क्षयरोग दिवस’ क्षयरोग अन्त्यका लागि लगानी गरौं, जीवन बचाऔँ‘ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस २०२२ मनाइँदैछ ।

नेपालमा सन् २०१८/१९ मा सम्पन्न क्षयरोग प्रियालेन्स सर्वेक्षण अनुसार अनुमानित ६८,००० जना नयाँ क्षयरोगका बिरामीहरु रहेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब २७, २३२ जना विरामी रोग पत्ता लागेर उपचारमा आएका छन् ।’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्षयरोग सक्रिय नरहे तापनि निष्क्रिय रहेको हुन सक्ने भएकोले नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ जना व्यक्तिलाई भविष्यमा क्षयरोग सक्रिय हुन सक्ने देखिएको चिकित्सकको भनाई रहेको उनको सन्देशमा उल्लेख छ ।

‘विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाबारे पत्ता लाग्ने गर्दछ । त्यसैले लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने, अस्वभाविक रुपमा शरीरको वजन घट्ने, फोक्सोमा पिडा महशुस हुने, ज्वरो आउने जस्ता लक्षण देखिएमा परीक्षण गर्न अनुरोध गर्न चाहन्छ । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एच.आई.भी, मगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीहरुलाई छिटो लाग्न सक्ने गरेको छ ।’ स्वास्थ्य सन्देशमा भनिएको छ ।

बागमती प्रदेश सरकारले रोगहरुको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकोले यसबाट समेत क्षयरोगको बेलैमा पहिचानमा मद्दत पुग्ने विश्वास लिइएको सन्देशमा उल्लेख छ । ‘धुम्रपान मद्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बी।सी।जी।को खोप लगाउने र रोगको संक्रमण अरुमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहनु जरुरी रहेको छ । क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न हुन बागमती प्रदेशवासीमा विश्व क्षयरोग दिवसको अवसरमा आग्रह गर्दछ ।’ सन्देशमा भनिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार