
काठमाडौँ । नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघमा पुनः विद्यार्थीको नेतृत्व स्थापित भएको र अबको नेविसंघ विद्यार्थीकै मुद्दामा केन्द्रित हुने बताउनुभएको छ ।
उहाँले नेविसंघले तत्कालै देशभर सदस्यता वितरण अभियान चलाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत दिलाउन सबै शक्ति केन्द्रित गर्ने बताउनुभयो । नेविसंघको अध्यक्षमा पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य राजीव ढुंगानाबाट पदभार ग्रहण गर्दै अध्यक्ष शेर्पाले पार्टीले दिएको डेडलाइनभित्रै महाधिवेशन गरेर नेविसंघलाई विद्यार्थीको संस्थाका रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
‘लामो प्रयासपछि नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था लागू भएको छ, यसबाट नेविसंघमा विश्वविद्यालयमै अध्ययनरत विद्यार्थीको नेतृत्व स्थापित भएको छ,’ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘यसले संगठनलाई ट्रयाकमा ल्याउने काम गरेको छ । अबको नेविसंघ विद्यार्थीको नेतृत्वको हो, यसले विद्यार्थी र शिक्षा क्षेत्रका मुद्दामै आफ्नो ध्यान केन्द्रित गर्छ ।’
उहाँले विगतमा नेविसंघको छवि बिगार्ने गरी भएका कामहरूको समीक्षा गर्दै भावी दिनमा विशुद्ध विद्यार्थी संस्थाका रूपमा स्थापित गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । अध्यक्ष शेर्पाले पार्टीभित्रका सबै पक्ष र विचारहरूलाई समेटेर नेविसंघलाई अघि बढाउने बताउनुभयो । शेर्पालाई पदभार हस्तान्तरण गर्दै केन्द्रीय सदस्य राजीव ढुंगानाले नेविसंघले तत्काल तीन तहको निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
‘विगतमा कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भयो, कम्युनिष्ट शक्तिहरूले संविधान र लोकतन्त्र मास्ने गरी गतिविधि गरे,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब संविधान र लोकतन्त्र बचाउन नेविसंघले कांग्रेसलाई बहुमत दिलाउने गरी सबै बल प्रयोग गर्नुपर्छ ।’ तत्कालीन कार्यसमितिले अधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले बुधबार शेर्पालाई नेविसंघको केन्द्रीय अध्यक्षमा मनोनीत गर्नुभएको थियो । तर, तत्काल नेविसंघको केन्द्रीय समितिमा शेर्पामात्रै छन् । अध्यक्ष शेर्पालाई पार्टीले तीन तहका निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको केन्द्रीय महाधिवेशन गर्नुपर्ने समयसीमा दिएको छ । ekantipurबाट