धेरै बालेनहरु जन्मनेछन्, पार्टीहरू समाप्त हुनेछन् : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेअनुसार भूमिसुधार योजना लागू गर्न अत्याधुनिक भूमि डाटा बैंकको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भन्नुभयो, ‘हामीसँग भूमिसम्बन्धी डाटा अपडेट छैन, भूमिसम्बन्धी डाटा अपडेट गर्नका लागि सवैभन्दा पहिले अत्याधुनिक टेक्नोलोजीले हाम्रो देशको भूमि मापन गर्नसक्नुपर्छ ।’ त्यसका लागि उहाँले भूमि डाटा बैंक बनाउन सक्नुपर्ने पनि बताउनुभयो ।

उहाँले देशको कुनैपनि भूभाग हेर्न क्लिक गर्दा हेर्न सकिने बनाउनुपर्ने जरुरी भएको बताउनुभयो । नेता खनालले विकास निर्माणका कुनैपनि काम गर्न त्यस्तो डाटा आवस्यक पर्ने भन्दै भूसम्पतीको वितरण अन्यायपूर्ण रहेको बताउनुभयो । अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवस्यक छ’, खनालको भनाइ छ ।

उहाँले यी दुईवटा उद्देश्य प्राप्तिका लागि भूमिसुधार अनिवार्य रहेको र त्यो जुन सरकारले गरेपनि हुने बताउनुभयो । यदि त्यसो नगरे मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिनुभयो । ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार