लोसपाको कार्यकारिणी समिति बैठक : यी विषयमा छलफल केन्द्रित

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि लोसपा कार्यकारिणी समितिको बैठक चलिरहेको हो । बैठकमा चुनावको समीक्षा, आगामी चुनावको रणनीतिको विषयमा केन्द्रीत भएर छलफल भइरहेको सो पार्टीका नेता मनिष सुमनले बताउनुभयो ।

स्थानीय चुनावबाट पाठ सिक्दै आगामी चुनावमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि नेताहरुले आ–आफ्नो धारणा राखिरहेको उहाँको भनाइ छ ।आगामी चुनावमा कुनै न कुनै दलसँग गठबन्धन बनाएर नै जानुपर्ने अधिकांशको सुझाव रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच दलको गठबन्धन छँदैछ, त्यसबाहेकका गठबन्धन कसरी बनाउन सकिन्छ, त्यतातिर पनि नेताहरुको बीचमा विचार विमर्श भइरहेको छ । बैठक सकेपछि एउटा निष्कर्ष आउनसक्छ ।’

जसपासँग गठबन्धन गर्ने बारेमा कुनै छलफल नरहेको बताउँदै उहाँले जसपा एउटा गठबन्धनमा छ, त्यो गठबन्धन छाडेपछि मात्र सो दलसँग गठबन्धन गर्ने नगर्ने कुरा आउने नेताहरुको विश्लेषण रहेको बताउनुभयो । बैठक हिजोदेखि नै जारी रहेको हो । लोसपाको कार्यकारिणी समिति हाल ३१ सदस्यीय रहेको छ । त्यसमध्ये राजकुमार लेखी, रेशम चौधरीले पार्टी छाडिसकेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार