कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनले छाप्ने

काठमाडौं । सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।

‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशन मार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ’ मन्त्री पौडेलले भन्नुभयो । कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएकामा उसले पुस्तक छापिसकेको छ ।

जनक शिक्षाले ४ देखि १० कक्षासम्मको पुस्तक छपाइ अहिलेसम्म सकेको छैन । जनक शिक्षाले यस वर्ष १ करोड ९६ लाख थान पुस्तक छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७० लाख थान मात्र पुस्तक छपाइ गरेकाले विद्यार्थीले अभाव भोग्नुपरेको छ । सोही कारण सरकारले ११ र १२ को पुस्तक छपाइको जिम्मा भने साझा प्रकाशनलाई दिएको हो । जनक शिक्षाको छापाखानाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र रुस युक्रेन युद्धका कारण कागज अभाव भएको कारण पुस्तक छपाइम ढिला भएको मन्त्री पौडेलले बताउनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार