मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ : सांसद कार्की

विराटनगर । प्रदेश १ का सांसद विमल कार्कीले किसानलाई तत्काल मागेजति मल उपलब्ध गराउन नसके धादिङमा जस्तै प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्ने चेतावनी दिनुभएको छ । आइतबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी दिनुभएको हो ।

किसानलाई तत्काल मागेजति मल नदिए किसानको आक्रोश थेग्न नकिने भन्दै तत्कालै मलको व्यवस्था गर्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ‘वाली लगाउने सिजनमै मल नपाएर किसान मर्कामा परेका छन्’ उहाँले भन्नुभयो‘तत्काल मल नदिए प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्छ। मलको गोदाममा आगो लाग्न सक्छ।’ किसान आक्रोशित भएर सडकमा आउनू पहिलै माग अनुसारको मल उपलब्ध गराउन उहाँले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद अम्विका थापाले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने प्रदेश सरकारको योजनाबारेमा जिज्ञासा राख्नुभएको छ । उहाँले प्रदेश सरकारले उदयपुरमा गत वर्ष नै मेडिकल कलेज खोल्ने घोषणा गरेपनि अझै सम्म मेडिकल कलेजको पूर्वाधार निर्माणको काम सुरू नभएको बताउनुभयो । उहाँले मेडिकल कलेजका लागि ६० विघा जग्गा व्यवस्था भइसकेको अनुगमन र नामजाँचसमेत गरिसकेको जानकारी दिनुभयो ।

तर, अझैसम्म भौतिक निर्माण सुरू नभएको र बजेटमा पनि उल्लेख नभएकाले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने योजनाबारे जानकारी दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पूर्णप्रसाद राईले शंखुवासभाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको सडक, टेलिफोनको टावर बगाएर सडक तथा सञ्चारबाट भोटखोला र मकालु गाउँपालिका सम्पर्क विहीन भएको बताउनुभयो । उहाँले केहि बस्तीहरू बाढीको जोखिममा रहेकाले त्यस्ता वस्ती तत्काल सुरक्षित स्थानमा सारेर जनताको जीउ धनको सुरक्षा गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सांसद होमकुमारी साँवाले ताप्लेजु्ङको खोवाङका बाढी पीडितलाई राहत र क्षतीपूर्ति दिन आग्रह गर्नुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार