१० असारभित्रै विभाग गठन गर्ने देउवाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थाल्नुभएको छ । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गर्नुभएको हो ।

विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ लिएको समयानुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुग्छ ।

सभापति देउवाले विभाग गठनका लागि तयारी थालेको शीर्ष तहका एक नेताले जानकारी दिनुभयो । ‘सपथ लिएको दिनबाट असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्दछ । असार १० अघि नै विभाग गठनको तयारी भएको छ,’ ती नेताले भन्नुभयो ।

उहाँका अनुसार सभापति देउवाले एकैपटकमा सबै विभाग गठन गर्ने छैनन् । प्रारम्भमा ७र८ वटा विभाग गठन हुनसक्ने उहाँले बताउनुभयो । कांग्रेसको विधान अनुसार २८ विभागको व्यवस्था छ । विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ ।

विधान अनुसारको विभागहरु गठन गर्नका लागि सभापति देउवालाई भेटेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार ध्यानाकर्षण गराएका थिए । विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठन तथा पूर्णता लगायतका विषयमा सभापतिसँग छलफल भएको महामन्त्री शर्माले जानकारी दिनुभयो ।

दुई महामन्त्रीले मंगलबार पनि देउवालाई भेट्ने हुनुभएको छ । भेटमा पार्टीको आन्तरिक विषयमा छलफल हुने महामन्त्री शर्माले जानकारी दिनुभयो । देउवाको अघिल्लो कार्यकालमा विधान विपरीत विभाग बढाइएको भन्दै एक पक्षले विरोध गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाउनुभएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार