रवि लामिछानेको पद सभापति : निर्वाचन आयोगमा दर्ता भयो निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाउनुभएको छ । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताउनुभएको छ । उहाँले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताउनुभएको छ ।

यसैबीच राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुगेका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराउनुभएको छ । आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताउनुभयो । उहाँले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताउनुभयो ।

चुनाव चिन्ह घण्टीको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यसको सिम्बोल आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीक रहेको बताउनुभयो । बेथिति बिरुद्धको जनाउ घण्टी रहेको उहाँको भनाई छ । लामिछानेले आफ्नो लागि निर्वाचन क्षेत्र निश्चित गरिनसकेको बताउँदै देशभरी भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा स्वतन्त्र उम्मेदवार हुन खोज्नेहरूका लागि आफ्नो पार्टी राम्रो प्लेटफर्म रहेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार