ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिनुभएको छ ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिनुभएको हो ।

‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफूहरुले सामूहिक राजीनामा दिएको पुष्टि गर्दैसेती महाकाली इन्चार्जरहेका ओमप्रकाश पुनले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गयौं । हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिती देखिएन टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरू स(साना समूहमा बसेर हुँदैन । उहाँले सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकोले सबैलाई एकताबद्ध गर्न अभियान थालेको बताउनुभयो । नेता पुनले माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको बताउनुभयो । उहाँले माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार