माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताउनुभयो ।आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माननीय त छँदैछु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्कोपटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठूलो कुरो होइन ।’उहाँले मन्त्रालयबाट विदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउनुभयो। ‘छुट्टिंदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उहाँले भन्नुभयो । आफू ८ महिना २१ दिन मन्त्रीको रुपमा गर्वका साथ रहेको र विवादरहित निर्णय गरेको दाबीसमेत गर्नुभयो ।

काममा कतै पनि तलमाथि नगरेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘जति दिन म बसें असाध्यै गर्वका साथ, विभागले गरेका, कुनै पनि शाखाले गरेका निर्णयहरु विवादरहित भएर ८ महिना २१ दिन सफलतापूर्वक सम्पन्न गरेर म आज बाहिरिंदै छु ।’ उहाँले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह पनि गर्नुभयो ।

चर्को स्वरमा बोल्ने आफ्नो स्वभाव रहेको बताउँदै निवर्तमान श्रेष्ठले कसैको चित्त दुखेको भए आजैदेखि भुलिदिन आग्रह समेत गर्नुभयो । ठगेको पैसा २४ घण्टाभित्र दिने कि नदिने भनेर आफूले दलालहरुलाई डाइरेक्ट फोन गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘म एक्सनमा जाँदाखेरि, कहिलेकाहिं कतै चर्को स्वरले चित्त दुखेको छ भने त्यो आजदेखि भुल्दिनुस् है ।’अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार