बागमती प्रदेश : बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेद्वारा संसद अवरुद्ध

मकवानपुर । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । बजेट माथिको छलफलका लागि आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।

एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक सोमबार (आज) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि एमालेका सांसदहरुले सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फिर्ता दिएका थिए ।उनीहरुले प्रदेश सरकारको बजेट असन्तुलित भएको भन्दै विरोध गर्दै आएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आफु निकट व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, प्रदेशका १३ जिल्लालाई विभेदपूर्ण रुपमा बजेट वितरण गरेको, कार्यकर्ता पोस्ने गरी बजेटमा टुक्रे योजनाहरु समावेश गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको र विगतको सरकारले ल्याएका वृहत प्रकारका योजनाहरु कटौती गरेर आर्थिक भार थप्ने काम गरेको एमालेको आरोप छ ।

उक्त विषयहरु सच्याउनुपर्ने एमालेको माग छ ।प्रदेशसभाको आजको बैठक सञ्चालनको लागि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसिरहेको छ । सरकार र प्रमुख प्रतिपक्ष दल बीचको विवाद समाधानका लागि सभामुख श्रेष्ठले सर्वदलीय बैठक राखेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार