मैले गरेको कामको परिणाम पछिसम्म देखिनेछ : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गर्नुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले आफूले मन्त्री हुँदा गरेको कामको परिणाम आइरहेका र भविष्यमा पनि देखिँदै जाने बताउनुभएको छ ।

‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु’ उहाँले भन्नुभएको छ, ‘त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन ।’

झाँक्रीले करिब ८ महिनापछि आइतबार शहरी विकास मन्त्रालयबाट विदा लिनुभएको थियो । उहाँले आफूलाई विश्वास गरेर मन्त्री बनाउने र मन्त्री भइसकेपछि काममा सुझाव सल्लाह प्रतिक्रिया र खबरदारी गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । नवनियुक्त मन्त्रीले आफूले अघि बढाएका योजनालाई निरन्तरता दिने झाँक्रीले आशा गर्नुभएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार