आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन : सुदन किराँती

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले केन्‍द्रीय समितिको बैठकमा पाँच बुँदामा टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित बैठकमा उहाँले पाँच बुँदामा टिप्पणी गर्नुभएको हो ।

उहाँले पार्टीका नेताका आचरणले गर्दा राजनीति विद्रुपिकरण भएको बताउनुभयो। पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सक्दैन भन्दै उहाँले चिनियाँ उखान पनि सम्झिएका थिए, ‘आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन। पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सक्दैन भन्ने सन्देश गयो। पदाधिकारी बनाउन सक्नुभएन भने जनवाद प्रयोग गरौं, हामी बनाउँछौं।’

त्यस्तै, पार्टीको विचार ठीक भएको पनि उहाँले बताउनुभयो । अब पाँच वर्षे कार्यविभाजन गरेर एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताऔं भनेर प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । त्यसो गरेमा समाजवादको बाटो आउने पनि उहाँले बताउनुभयो । उहाँले माओवादी केन्द्र अरू पार्टीहरूभन्दा भिन्न देखिनुपर्ने पनि बताउनुभयो ।

‘हामी अरूभन्दा केही भिन्न देखिन सकौं। स्वास्थ्य, शिक्षा सुधारौं। कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीय सदस्यहरूका छोराछोरी सरकारी स्कुलमा पढाउन लैजाऊ,’ उहाँले भन्नुभयो, ‘अरूभन्दा झन् खराब देखिन थालियो। अरूहरू बगेको मूलको खान्छन्, थाहा पाइँदैन । जस्तैस् बतास, ओम्नी, यती खान्छन्। हामी ढलको पानी पिउँदैछौं। (सुब्बा, खरदार सरूवामा पैसा खाँदैछौं) हामीलाई झाडापखाला लाग्दैछ।’

उहाँले पार्टी अध्यक्ष पुष्षकमल दाहाललाई महिनामा १० पटक भेटेर नेताहरूले ठगिरहेको बताउनुभयो । त्यस्तै काम गर्नेलाई पुरस्कार दिने र नगर्नेलाई दण्डित बनाउनुपर्ने समेत माग गर्नुभयो । अध्यक्ष तपाईंलाई महिनामा १० पल्ट भेटेर ठग्नेहरू महिनामा कति पल्ट फिल्ड जानु भयो भनेर सोधिदिनुहोस्,’ उहाँले भन्नुभयो, ‘काम गर्नेलाई पुरस्कर र नगर्नेलाई दण्डको विधि बनाउनुहोस्।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार