जन्मदिनमा पोर्चुगलबाट बालगृहका बालबालिकालाई सहयोग (तस्बिरहरू)

म्याग्दी ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी घर भई हाल रोजगारको सिलसिलामा पोर्चुगलमा रहनुभएका लोकराज रोका मगरले बालबालिकालाई शैक्षिक सामग्री (स्टेशनरी) सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर आज (शनिवार) उहाँले नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री सहयोग गर्नुभएको हो ।

म्याग्दी प्रवासी मञ्च साईप्रसको अध्यक्ष समेत रहनुभएका रोका मगरले धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष थमसरा पुनमार्फत बाल सङ्गठनका जिल्ला अध्यक्ष राजेश शाक्य र सचिव सन्दीप खत्रीको रोहबरमा बालबालिकाहरुलाई कपी, कलमलगायत स्टेशनरी सामग्री सहयोग गर्नुभएको म्याग्दी बालगृहले जनाएको छ । उक्त सामग्रीहरु निवर्तमान अध्यक्ष पुनले म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई प्रदान गर्नुभएको थियो ।

स्टेशनरी सामग्री वितरण गर्दै पुनले जन्मदिनको अवसरमा लोकराजले बालबालिकाहरुलाई गरेको शैक्षिक सामग्री सहयोगले उनीहरुको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले म्याग्दी बालगृहको क्षमता विस्तार गरी शिक्षाबाट बञ्चित अन्य बालबालिकाहरुलाई पनि अध्ययन तथा अध्यापनको व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै यसमा सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । म्याग्दी बालगृहमा हाल ११ जना खासगरी अभिभावकविहिन बालबालिकाहरुले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् ।

बाल सङ्गठनका अध्यक्ष शाक्यले म्याग्दी बालगृहको क्षमता बढाउनका लागि थप पूर्वाधारको विस्तार गर्न आवश्यक पहल भैरहेको जानकारी दिनुभयो । बाल सङ्गठनका सचिव खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, बालगृहका कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रमको भने निवर्तमान अध्यक्ष पुनले समन्वय गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार