म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो ।

कालोपत्रे भएको खण्डमा साविकको भाडामा पचास प्रतिशत भाडा घटाउने र कच्ची सडकमा साविक बमोजिमकै भाडा कायम गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकले समायोजन सहितको भाडादर यातायात व्यवसायिहरुले तत्काल जिल्ला प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पेश गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक अन्तर्गत बेनी देखि मंगला गाउँपालिका २ सिमचोकसम्मको करिब १२ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । सडक कालोपत्रे भएपनि सार्वजनिक यातायातमा पुरानै भाडाशुल्क असुल हुँदै आएकोमा चौतर्फि विरोध र आलोचना भएपछि भाडादर समायोजन गरिएको हो ।

जिल्ला स्थित सरोकारवाला र यातायात व्यवसायिहरु समेत सहभागी उक्त बैठकले बेनी–दरबाङ सडकको सिमसम्म कालोपत्रे भएको सिमदेखि दरबाङसम्मको कालोपत्रेको लागि योजना सञ्चालन भइरहेकाे अवस्थामा बेनीदेखि दरबाङसम्मको २४ किलोमिटर सडकलाई स्थायी रुट कायम गर्न गण्डकी प्रदेश र संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरि जिल्लाभित्र र जिल्लाबाट बाहिर सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले महिला, अशक्त, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक लगायतका बर्गलाई छुट्याउनुपर्ने आरक्षण र भाडामा छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराउने निर्णय समेत गरिएको छ । बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारी, प्रहरी नायब उपरिक्षक तिलक भारती, ट्राफिक प्रहरी प्रमुख इन्द्रबहादुर नेपाली ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, यातायात व्यवसायी लगायत प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार