कांग्रेस म्याग्दीको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सुरु

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेस म्याग्दीले पालिकास्तरीय कार्यकता भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर बुधबारदेखि कांग्रेसले पहिलो चरणको पालिका स्तरीय अभियान सुरु भएको हो । अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला भएको छ ।

जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेर अभियानलाई तिब्रता दिइएको जिल्ला कार्य समिति म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आगमी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेलाई पहिलो दल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले पार्टी आन्तरिक रुपमा एक ढिक्का भएको बताउँदै म्याग्दीमा कुनै पनि गुटउपगुट नभएको बताउनुभयो । आगामी निर्वाचनमा सबै एक भएर कांग्रेसलाई जिताउन समेत आग्रह गर्नुभएको छ ।सोही भेलामा उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारी, सचिव भरतबहादुर रकाल, प्रदेशसभा (क)का सभापति ओम छन्त्याल ,दरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, पूर्व सहसभापती नेत्रबहादुर महत, पूर्व सचिव क्या मिनबहादुर कार्की , शुभेन्छुक संस्था समन्वय संयोजक दुर्गाराम सुवेदी लगायतका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो।

रघुगंगा गाउँपालिका सभापती मनकुमार शेरपुजाको अध्यक्षता र पालिका सचिव सिता खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको  कार्यक्रममा पालिकामा बैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेद्धार बनेका, निर्वाचित जनप्रतिनिधि, पालिका समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । जिल्लाका सबै पालिकास्तरीय भेलापछि थप योजना बनाएर वडा, बस्ती र टोलस्तरसम्म जाने कांग्रेसले जनाएको छ । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार