म्याग्दीमा आठ वटा मतदान स्थल थपियो

८६ हजार १२० मतदाता कायम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदान स्थल थपिएका छन् ।

जिल्ला स्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधीहरुको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भएका ठाउँमा मतदान स्थल र केन्द्र थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र कायम भएका जानकारी दिनुभयो । गत स्थानीय तह चुनावमा ७४ मतदान स्थलमा ११४ केन्द्र थिए ।

धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा २÷२ वटा मतदान स्थल थपिएका हुन् । धवलागिरी गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नम्बर ७ धारापानीको चन्द्रकुन्ता किसानी माविमा मतदान स्थल कायम भएको छ ।

मंगला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि र वडा नम्बर ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदान स्थल थपिएको छ । रघुगंगा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदान स्थल थपिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नम्बर ८ को काफलडाडाँ आधारभूत विद्यालयमा पनि मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान स्थल थपिएपछि भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुई देखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ । कैलाश आधारभूत मतदान केन्द्रमा १५७ जना मतदाता छन् ।

आसन्न चुनावका लागि ४२ हजार ५५ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना तेस्रो लिङ्गी गरि कुल ८६ हजार १२० जना मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा ८५ हजार ३७५ मतदाता रहेकामो ५६ हजार ४५६ मत खसेको थियो ।

स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाईसराई गरेका र दिवंगत भएकाहरुको नामावली अद्यावधिक गरेर मतदाता संख्या काम गरिएको हो । स्थानीय तहको चुनावपछि ७४५ जना मतदाता थपिएका हुन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

बेनी नगरपालिकामा २२ हजार १८५, अन्नपूर्णमा १२ हजार ०६८, धवलागिरीमा १० हजार ८३७, मालिकामा १३ हजार ३३४, मंगलामा १३ हजार ४७७ र रघुगंगा गाउँपालिकामा १४ हजार २१९ जना मतदाता कायम भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार