म्याग्दीमा पाँच दलीय गठबन्धन चुनावी अभियानको तयारीमा

  म्याग्दी न्युज संवाददाता

बेनी । सत्तारुढ पाँच दलीय गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव लक्षित अभियान सञ्चालनको तयारी गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मनोनयन दर्ता अघि संयुक्त कार्यकर्ता प्रशिक्षण लगायतका अभियान सञ्चालन गर्न लागेका हो ।

संविधान दिवसको अवसरमा नेपाली काँग्रेसको आयोजनामा संगमचोक स्थित पार्टी कार्यालयमा सोमबार गठबन्धनका नेताहरुले रुपमा भेटघाट गरि शुभकामना आदानप्रदान र आगामी योजनाको विषयमा छलफल गरेका छन् । स्थानीय तह चुनावपछि गठबन्धनका नेताहरुबीच औपचारिक भेटघाट, छलफल भएको थिएन् । यसैगरी साँझ संयुक्त रुपमा दिप प्रज्वलन गरेर संविधान दिवस मनाएका थिए ।

गत स्थानीय तह चुनावमा जिल्लाव्यापी तालमेल गर्न नसक्दा धवलागिरी गाउँपालिका बाहेकका पालिकामा सोचेजस्तो नतिजा आउन नसकेको समिक्षा गर्दै उनिहरुले केन्द्रिय नीति अनुसार आगामी चुनावको रणनीति बनाउन लागेका हुन् ।

स्थानीय तह चुनावमा जिल्लाव्यापी र वडा तहसम्म तालमेल नहुँदा क्षति भएको आत्मसमिक्षा गरेका गठबन्धनका लागि कार्यकर्ता तहमा रहेको असन्तुष्टि, प्रतिस्पर्धी भावना र गुनासो आगामी चुनावको लागि चुनौति बनेको छ ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले कार्यकर्तालाई गठबन्धनको आवश्यकता, औचित्यता र उपलब्धी बुझाउने तथा स्थानीय तह चुनावको तिक्तत्ता, बिवाद र गुनासो व्यवस्थापन गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

“आगामी चुनावको नतिजालाई गठबन्धनको पक्षमा पार्न मनोनयन दर्ताअघि जिल्ला, पालिका र वडा स्तरसम्म संयुक्त कार्यक्रम बनाउन समिति बनाइएको छ,” उहाँले भन्नुभयो “स्थानीय तह चुनावको परिणामको विषयमा जिल्ला नेतृत्व तहमा गम्भिर समिक्षा गरेका छौ ।”

संयुक्त चुनावी अभियान सञ्चालनका लागि काँग्रेसका जिल्ला उपसभापति भण्डारीको नेतृत्वमा जिल्ला सदस्य अजयमिलन श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सहसचिव टेकबहादुर बिक, सदस्य बिनोद केसी र अन्य दलका प्रतिनिधी रहनेगरी जिल्ला स्तरीय संयुक्त समिति बनाएका छन् ।

स्थानीय तह चुनावमा गठबन्धनका दलहरुबीच प्रतिस्पर्धा हुदाँ सिर्जना भएको असन्तुष्टि र अविश्वास पहिचान गरि सहकार्यको वातावरण बनाउन संयुक्त अभियानको आवश्यकता महुशस गरिएको माओवादीका प्रदेश क्षेत्र (क)का इञ्चार्ज केसीले बताउनुभयो ।

विगतमा प्रतिस्पर्धा गर्दा वडा स्तरमा सिर्जना भएका समस्या समाधानका लागि केही वडामा दुवै पार्टीले वार्ता समिति बनाएर छलफल गरि सौहादता र सहकार्यको वातावरण बनाउने प्रयास भएको काँग्रेसका नेता अजयमिलन श्रेष्ठले बताउनुभयो ।

माओवादीका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले सिटबाडफाँडमा जसको उमेद्वार भएपनि गठबन्धनलाई जिताउने गरी तयारीमा लागिएको बताउनुभयो । गठबन्धनका दलभित्रका असुन्तुष्टि समयमै पहिचान र समाधान गरी मत सुरक्षित बनाउन संयुक्त कार्यक्रमको आवश्यकता परेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार