भीम रावल र घनश्याम भुसाललाई निर्वाचन लड्न प्रस्ताव

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् ।

रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् ।

रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुर्नस्थापना नहुने देखेर एमाले छाड्ने निष्कर्षमा पुगेको बताएका छन् ।

एमाले छाडेको घोषणासँगै उनले राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने पनि गरेका छन् । भुसालको यो भनाइबाट उनी राजनीतिमा कुनै न कुनै रुपमा सक्रिय रहने प्रस्ट बुझिएको छ । तर तत्काल कुन पार्टीमा आवद्ध हुने भन्नेबारे भने उनले खुलाएका छैनन् । तर भुसाल निकट स्रोतका अनुसार भुसाललाई सत्ता गठबन्धनले गठबन्धनमा आवद्ध दलको चुनाव चिह्नबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । ‘

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवै दलका शीर्ष नेताले चुनाव लड्न आग्रह गरिरहनुभएको छ । तर उहाँले अहिलेसम्म कुनै निर्णय गर्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो । यता माओवादी र समाजवादीको सल्लाहअनुसार नै रुपन्देही १ मा भुसाललाई चुनाव लडाउन उपयुक्त हुने गठबन्धनमा छलफल भएको छ ।

‘गठबन्धनका शीर्ष नेताहरुले फोनमार्फत चुनाव लड्न प्रस्ताव गरिरहनुभएको छ । तर घनश्याम कमरेडले निर्णय गरिसक्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो, ‘आन्तरिक छलफल जारी छ ।’

भुसालले पार्टी छोडेको घोषणा गरिसकेको अवस्थामा रावलले पनि एमाले छोड्ने तयारी गरेको रावल निकट स्रोतले दावी गरेको छ । रावल र भुसाल दुवै गत मंसिरमा सम्पन्न एमाले महाधिवेशनमा ओलीको चाहना विपरित अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए ।

यसैबीच रावल र भुसालबारे कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

शनिबार दिउँसो तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । चुनाव लड्ने हुँदा तत्काल रावल र भुसाल दुवैको विकल्प स्वतन्त्र चुनाव लड्ने कि कुनै दल वा गठबन्धनबाट लड्ने भन्ने दुई विकल्प छन् । Nepali Network 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार