पश्चिम नेपाल सहकारीको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा गौतम

  म्याग्दी न्युज संवाददाता

तातोपानी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भिमप्रसाद गौतम (जिवन) चयन हुनुभएको छ । बेनी नगरपालिका–४, तातोपानीमा शुक्रबार सम्पन्न सहकारीको १५ औ वार्षिक साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा कृष्णप्रसाद आचार्य र कोषाध्यक्षमा श्रीराम पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा गणेश गुरुङ (सुरेन), दामोदर शर्मा, प्रेमलाल पौडेल, मायादेवी शर्मा, डिलबहादुर बरुवाल, दिर्घबहादुर खत्री, श्रीकृष्ण रिजाल, लेकबहादुर पुन चयन हुनुभएको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले जानकारी दिनुभयो । रमेश सुवेदीको संयोजकत्वमा गोपाल रेग्मी र लोकनाथ रेग्मी सदस्य रहनुभएको लेखा समिति चयन भएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा भएको साधारणसभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले एक÷एक सय रुपैयाँ सेयरबाट शुरु गरेको सहकारीमा हाल पाँच हजार ३१० जना सदस्यको १२ करोड ८६ लाख ७२ हजार ७०० रुपैयाँ सेयर रकम पुगेको छ ।

दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ ।

धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सेवा केन्द्र छन् । गत आर्थिक वर्षमा ६९ करोड ४० लाख ४५ हजार ७३० रुपैयाँ निक्षेप र ८० करोड ५७ लाख ७५ हजार २० रुपैयाँ ऋण लगानी गरेको सहकारीले दुई करोड ५२ लाख ७१ हजार ४०६ रुपैयाँ आम्दानी गरेको छ ।

समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम ल्याएको छ ।साधारणसभाको उद्घाटन समारोहमा वत्ताहरुले सहकारी संस्थाप्रति विश्वास बढाउनुपर्ने र सेयर सदस्यहरुलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउनुपर्ने बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार