वदर मतको दर घटाउन म्याग्दीमा नमुना मतदान

  म्याग्दी न्युज संवाददाता

बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा वदर मतको दर घटाउन म्याग्दीका छ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय, म्याग्दीले कात्तिक २२ देखि शुक्रबारसम्म जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान गरेको हो ।

प्रदेशसभा क्षेत्र (क)को बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञानोदय मावि र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा क्षेत्र (ख) को मंगलाको बाबियाचौर, मालिकाको दरवाङ र धवलागिरी गाउँपालिकाको धारापानीमा नमुना मतदान कार्यक्रम गरिएको हो । जिल्लाका सबै ठाउँको नमुना मतदानमा ३०० जनाले सहभागिता जनाएका छन् ।

मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परिक्षणका लागि नमुना मतदान गरिएको हो । स्थानीयवासिन्दा, विद्यार्थी, कर्मचारीहरुले नमुना मतदानमा भाग लिएका थिए । मंसिर ४ गते हुने चुनावमा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ ।

मतदानमा सहभागी भएका सर्वसधारणले चार पटक मतदान गर्नुपर्ने र धेरै चुनाव चिन्ह भएको समानुपातिकको मतपत्रमा अलमलिएको बताएका बताएका छन् । निर्वाचन आयोगको देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा कात्तिक १८ गतेदेखि ४६१ जना स्वमसेवक परिचालन भएका छन् ।

राजनीतिक दल र उमेद्वारहरुले पनि मतदाता शिक्षालाई केन्द्रित गरेर कार्यकर्ता परिचालन गरेको जनाएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ५४ हजार ६७८ मत खसेकोमा ९२.४३ प्रतिशत मत सदर भएको थियो ।

वि.स. २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ४७ हजार ४४९ मत खसेकोमा समानुपातीको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४.८१ प्रतिशत र दुई वटै प्रदेशसभामा एक हजार ४८३ ३.१२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको अभिलेख छ ।

प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ र क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल, ११९ वटा मतदान केन्द्र र ८६ हजार जना मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार