एमालेको चुनावी सभा जारी

‘नीति निर्माणसँगै अन्नपूर्णको विकासमा जोड दिन्छौं’

  म्याग्दी न्युज संवाददाता

नेकपा एमालेका नेता तथा उम्मेदवाहरुले नीति निर्माणको साथसाथै अन्नपूर्ण गाउँपालिकाको विकासमा जोड दिने बताएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी कार्यक्रमअन्तर्गत आज (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवा र २ भूरुङ तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले नीति निर्माणसँगै अन्नपूर्णको विकासमा जोड दिने बताउनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिका क्षेत्र व्यावसायिक कृषि उत्पादन तथा अपार जलस्रोतको भण्डार रहेको बताउँदै यसको विकासका लागि उपयुक्त नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्नपूर्णसहित समग्र म्याग्दी जिल्लाको विकासका लागि नीति निर्माणसँगै आवश्यक पहल गर्ने बताउँदै एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

प्रदेशसभा (२)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले एमाले पार्टीले विगतमा गरेका कामलाई निरन्तरता दिँदै जिल्लाको विकासमा थप पहल गर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै यसका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिका कृषि, पर्यटन, जलविद्युत, तातोपानी कुण्डलगायत थुप्रै क्षेत्रको सम्भावना बोकेको पालिका भएको बताउँदै अन्नपूर्णको दीगो विकासका लागि आफू र एमालेलाई भोट दिएर जिताउन अनुुरोध गर्नुभयो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाले घोषणापत्रअनुसार एमालेले देशको विकास गर्ने र परिवर्तन ल्याउने बताउँदै म्याग्दीलाई प्रगतिको पथमा अगाडि बढाउन एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो । उहाँले एमालेले देशको विकास र रुपान्तरणका लागि गरेको काम जनतामाझ घाम जत्तिकै छर्लङ्गै रहेको भन्दै जनमुखी बजेट र योजना निर्माण गरी जनतालाई दीगो विकास दिनका लागि पनि एमालेले जित्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार