जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

  म्याग्दी न्युज संवाददाता

कुहुँ । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाउनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट उमेद्वार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजयउत्सव मनाउन थाल्नुभएको छ ।भोजभतेरको खर्च कटाएर विपन्न मतदातालाई सहयोग पुग्ने किसिमको काम गरेर विजयउत्सव मनाउन लागेको जुग्जालीले बताउनुभयो ।

मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जिर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाटा बोकेर बिहिबार त्यहाँ पुग्नुभयो । ७६ वर्षका फाले बोल्न नसक्ने अपाङ्ग हुनुहुन्छ । उहाँकी ७७ वर्षीया श्रीमति रतिकला पनि लडेर हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न । उहाँहरुको ढुंगा, माटो र काठले बनेको दुई तले घर जिर्ण बनेर भत्कने अवस्थामा छ । खरले छाएको पिढिको छानो चुहिने भएपछि बाहिर पलास्टिक राखेका छन् र फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहार सुसार गर्दै आउनुभएको छ ।

तिलकुमारी उहाँहरुका एकमात्र सन्तान हुनुहुन्छ । आफ्नै जग्गा जमिन नभएका उनिहरुको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो । आर्थिक अभावका कारण घर मर्मत गर्न सकेका थिएनन् । जिर्ण घरमा जोखिम मोलेर बस्दै आउनुभएको छ । जिर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई ३६ थान ८ फुटको जस्तापाटा उपलब्ध गराउनुभएको हो । “भोज, भतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजयउत्सव मनाउनुपर्छ भन्ने सुझाव र मेरो बिचार अनुसार दुख पाएका नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको छु,” उहाँले भन्नुभयो “साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको हो ।“ मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एकरएक वटा कार्यक्रम गर्ने जुग्जालीले बताउनुभयो ।

नेपाली कांग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रविन), नेकपा माओवादी केन्द्रका पृथीलाल विक, नविन किसान लगायतले नवनिर्वाचित प्रदेश सांसद जुग्जालीलाई फगामी दम्पत्तीको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । फगामीका छोरी तिलकुमारीले जिर्ण घर मर्मतका लागि सांसदनै जस्तापाटा बोकेर घर आएकोमा अचम्म लागेको बताउनुभयो ।

“सांसदले चुनाव जितेपछि गाउँमा मुख देखाउदैनन भन्ने सुनेको थिए,” तिलकुमारीले भन्नुभयो “उहाँ ९रेशम जुग्जाली० त सांसद भएर पनि आफै जस्तापाटा बोकेर हाम्रै घरमा आएको देख्दा अचम्म लाग्यो ।” नेपाली काँग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाटा फेरिदिने काँग्रेसका नेता पुनले बताउनुभयो । फाले फगामी र रिमतिले जिर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँहरुले नवनिर्वाचित सांसद जुग्जालीलाई आर्शिवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार