रेशम चौधरीलाई स्वागत गर्न कार्यकर्ता पुगे डिल्लीबजार कारागार गेटमा

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो ।

आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी कारागारबाट छुट्ने प्रतिक्रिया मिडियालाई दिएकी थिइन् ।

अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमालासहित उपस्थित भएका छन् । डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।

चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए । उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए ।

टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटना रेशम चौधरीकै निर्देशनमा भएको भन्दै अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार