सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावि रकम भुक्तानी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा विहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ बढी मृत्युदावी रकम भुक्तानी गरेको छ । अन्नपूर्ण गाउँपालिका–६ ,घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । ५० लाख रुपैयाँको विमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख रुपैयाँ , दुर्घटना मृत्यु लाभ वापतको रकम र ५० लाख रुपैयाँ र किरिया खर्च बापतको ५० हजार रुपैयाँ गरि एकमुष्ठ १ करोड ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २० बर्षको पोलिसी खरिद गर्नुभएका बरुवालले प्रत्येक बर्ष २ लाख ६५ हजार ३५७ रुपैयाँ प्रिमियम तिर्ने गरि बीमा गर्नुभएको थियो भने एक बर्षको मात्रै रकम उहाँले भुक्तानी गर्नुभएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा महजोडीको रुपमा परिचित कलकारद्वय श्रेष्ठ र आचार्यले जीवन बीमा भविश्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिनुभयो । हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीको रुपमा काम गरेको बताउँदै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन वीमामा सहयोग र प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमाल र सुनिल पोखरेल,जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, शाखा प्रमुख भावना पोडेल सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो भने कुवेर पाठकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार