सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया

  म्याग्दी न्युज संवाददाता

बेनी। गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले म्याग्दीका सहकारी संस्थाका संचालक र कर्मचारीहरुसँग आइतबार बेनीमा अन्तरक्रीया गरेको छ ।सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा सहकारीका सञ्चालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो ।

सहकारी सम्वन्धी उजुरी बढ्दै गएपछि सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्ती र शाखा अधिकृत चौलाकान्त वाग्लेले बेनी नगरपालिकाको सभाहलमा सहकारीका संचालक र कर्मचारी उपस्थित गराएर सहकारीको समसामयिक विषय, समस्या र सहकारीका नीति नियमबारे जानकारी गराउनु भएको थियो ।

शाखा अधिकृत वाग्लेले पछिल्लो समय सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था सिर्जना भएको हुदाँ संचालक र कर्मचारीले सहकारीको गतिविधिबारे सहकारी नियगमनकारी निकायमा नियमित रिपोटिङ, अध्यावधिक, शुसासन, शेयर सदस्यविच छलफल लगायतको विषयमा विशेष ध्यान दिन आग्रह गरिएको बताउनुभयो । पछिल्लो समय सहकारी तरलताको अभाव बढदै गएपछि सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था छ ।

बेनी नगरपालिकाका मेयर सुरत केसी र उपमेयर ज्योती लामिछानेले सहकारीको नीतिनियमलाई सहकारी संचालनमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिनुभयो । कार्यक्रममा सहभागी सहकारी संचालक र कर्मचारीले सहकारीका समसामयिक विषयहरुमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले म्याग्दीमा करिव २१४ सहकारीहरु रहेको जानकारी गराउनुभयो । म्याग्दीमा पछिल्लो समय संचालक र कर्मचारीको लापरबाहीले केही सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको अवस्था छ । बचत फिर्ता नभएपछि बचतकर्ताले सहकारी विरुद्ध पालिका, प्रशासन र सहकारी रजिष्ट्रार कार्यालय लगायत निकायमा उजुरी पर्न थालेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार