कालिगण्डकीको शिला भारतको अयोध्या लाने अन्तिम तयारी (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।कालिगण्डकी नदीकाे किनारमा अवस्थित दुई वटा शिला भारतको अयोध्यामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । रामको मुर्ती बनाउन पठाउन लागिएको उक्त शिलाको पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता बिमलेन्द्र निधि ,बेनी नगरपालिका नगर प्रमुख सुरत केसी ,प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल सहितको टोलीले अवलोकन गरेको छ ।

बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको आइतबार धार्मिक विधिअनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले क्षमा पुजा गरेपछि बेनीबाट बिदाइ गरिने नगर प्रमुख केसीले जानकारी दिनुभयो । एक हजार बर्ष टिकाउ हुने शिलाको पहिचान भएपछि उत्खनन गर्न टेण्डर समेत आह्वान भएको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

क्षमा पुजा गरेर एक साताभित्र बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले जनकपुर लगेर मधेश प्रदेशलाई हस्तान्तरण गर्ने र त्यहाँबाट केही दिनमा अयोध्या पु¥याइनेछ । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेता निधिले सङ्घीय सरकारको मन्त्रीपरिषद र गण्डकी प्रदेश सरकार बिच सहमति भएपछि अयोध्यामा रामको मुर्ती बनाउन नेपालको तर्फबाट भारत सरकारलाई पवित्र कालिगण्डकी नदीको शिला उपहार दिन लागिएको बताउनुभयो ।

गत साउन अन्तिम साता नेता निधि अयोध्याधाम पुगेर यसको पहल थाल्नुभएको थियो । निधिले राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिव धनुष उपहार दिने सहमति भएको जानकारी दिनुभयो । नेता निधिले यसले गण्डकी प्रदेश,जनकपुर र अयोध्या मात्र नभई नेपाल र भारत विचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै कालिगण्डकीलाई धार्मिक ,सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउन टेवा पु¥याउँने विश्वास व्यक्त गर्नुभयो ।

संघीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सहमती जनाएपछि कालिगण्डकी नदीमा शिलाको खोजी र अध्ययन सुरु भएको थियो । अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो ।

हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । राममन्दिर निर्माण समितिले कालीगण्डकीको शिलाबाट रामजन्मभूमि दाबी गरिएको ठाउँ नजिक रामको मूर्ति बनाउने जनाएको छ । कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शिला पठाउँदा धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार