दुई वर्षयता म्याग्दीमा नयाँ कुष्ठरोगी शुन्य

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो ।

७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधी सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

गण्डकी प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका बिरामी १ दशमलव ९ बाट घटेर हाल ०.२९ रहेको लम्सालको भनाई छ । पुराना बिरामीलाई नियमित औषधी सेवन सहित बिरामीको परिवारका सदस्य तथा आसपासका क्षेत्रमा रहेकालाई भने चेकजाँच गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीका अनुसार औषधी सेवन गर्नेमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना र बेनी नगरपालिकाका ३ जना रहेका छन् । म्याग्दीका केही बिरामीले पोखरमा उपचार तथा औषधी लिने गरेकाले समेत जिल्लाभित्र दर्ता भएका बाहेकको तथ्याङ्क प्राप्त गर्न समस्या हुने गरेको बताउनुभयो । रोग लुकाउनेहरू अन्तिम समयमा उपचारका लागि आउने गरेकाले समस्या हुने गरेको बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछाने बताउनुभयो ।

उहाँले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ । समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रम सहितका अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

कतिपय रोगीले सामाजिक बहिस्कार र वंशाणुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ । माईकोव्याक्टचोरिया लेप्रे नामक कीटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ ।

पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यक्षको स्वागत र सूचना अधिकारी गणेश सुवेदीको सहजीकरणमा सम्पन्न कृष्ठरोग सम्वन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकार हरीकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार