पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसका निमित्त प्राध्यापक, विद्यार्थी लगायत गरी ३२ जनाले रक्तदान गरेको इकाई सभापति सुजता खत्रीले बताउनुभयो ।विद्यार्थीको हकहितसँगै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको संघले रक्तदान सहित विद्यार्थीको हकहितलाई समेत प्राथमिकता दिएको खत्रीको भनाई थियो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवं बेनी नगरपालिकाका निर्वतमान नगर प्रमुख हरिकुमार श्रेष्ठले रक्तदान जीवनदान संगै पुण्यको काम भएको बताउँदै विद्यार्थी संघलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यबाहक सभापति समेत रहनुभएका उहाँले भन्नुभयो ,‘ प्रजातन्त्रको संरक्षण र गणतन्त्रको स्थापनामा स्वर्गिय पुर्व प्रधानमन्त्री एवं पुर्व पार्टी केन्द्रीय सभापति कोइरालाको अहम भूमिका रहेको छ ।’

उहाँले आर्दशवादी नेता कोइरालाको योगदानलाई सधैं सम्झिनुपर्ने बताउनुभयो । म्याग्दी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा क्षेत्र (क)का उपसभापति सुजन बरुवाल ,क्याम्पस प्रमुख गोरखबहादुर जिसी , नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायले यस्तै रचनात्मक कार्यक्रम संचालनको लागि विद्यार्थी संगठनले जोड दिनुपर्ने बताउनुभयो । इकाई सभापति खत्रीको सभापतित्व ,सचिव आशिक भण्डारी र सदस्य मिलन खत्रीले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति शिव श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार