जनता मावि दग्नामका किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा विद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षासम्बन्धी तालिम सञ्चालन भैरहेको छ । किशोरी शिक्षा अभियान अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिन थालिएको हो ।यसैक्रममा आज (बुधवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा सञ्चालित जनता माविका किशोरीहरुलाई आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा आत्मरक्षा तथा ओसिएमसीको विषयमा सचेतीकरण गराइएको थियो । कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत एवं ओसिएमसीका प्रमुख डाक्टर बिराज आचार्यले किशोरी अवस्था, हिंसा, हिंसाको विरुद्ध आत्मरक्षा गर्ने तरिका र ओसिएमसीको अवधारणासहित उपलब्ध सेवासुविधाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । यसैगरी मिलन म्याग्दीका सहसचिव एवं क्रियाशील पत्रकार प्रताप बानियाँले सञ्चारमाध्यमबाट हुने हिंसा तथा म्याग्दी जिल्लामा विभिन्न हिंसाको अवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै आत्मरक्षा तालिमका प्रशिक्षक एवं गण्डकी खेलकुद परिषद सदस्य चन्द्रा घले गुरुङले आत्मरक्षासम्बन्धी विषयमा सैद्धान्तिक कक्षाको साथै किशोरीहरुलाई प्रयोगात्मक अभ्यास समेत गराउनुभएको थियो । मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले विद्यालय तहबाटै लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षाको तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै दग्नामका वडा सदस्य राजकुमारी गर्बुजाले आत्मरक्षा तालिमले किशोरीहरुमाथि हुने हिंसा न्युनीकरणमा सहयोग पुग्नुका साथै हिंसा भएमा त्यसको प्रतिकार गर्नका लागि आत्मबल वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

जनता मावि दग्नामका सहायक प्रधानाध्यापक खड्कबहादुर गर्बुजाले विद्यार्थीले पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने बताउँदै शैक्षिक गतिविधिको साथमा अतिरिक्त क्रियाकलापमा पनि लाग्नुपर्नेमा जोड दिनुभयो । सहायक प्रअ गर्बुजाको अध्यक्षता र ओसिएमसीका फोकलपर्सन पबिना पूर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक बिटालुले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जनता मावि दग्नामका ४६ जना किशोरीहरु तथा शिक्षकले सहभागिता जनाएका थिए ।

रघुगंगा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयको कक्षा ७ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई मार्सल आर्टअन्तर्गत आत्मरक्षाको तालिम दिने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, जबरजस्ती करणी जस्ता घटनाहरुलाई न्युनीकरण गर्ने, किशोरीहरुमा आत्मबल बढाउन र खेलकुदप्रति उनीहरुको आकर्षण पैदा गर्नमा कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यसअघि रघुगंगाको रितुङ मावि कुईनेमङ्गले, अमर मावि चिमखोला, मुक्तिधाम मावि राखुभगवती, महादेव मावि बेगखोला र कालिका मावि तिप्ल्याङमा आत्मरक्षाको तालिम सञ्चालन भैसकेको छ । अब छिट्टै महेन्द्र मावि झिँ, अमर मावि पाखापानी, रघुगंगा मावि राखुपिप्ले र ज्ञानोदय मावि मौवाफाँटमा पनि आत्मरक्षासम्बन्धी विषयमा तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार