म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले विहिबार पत्रकार सम्मेलन मार्फत बेनी स्थित खुल्लामञ्चमा चैत १ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी गराएका हुन् ।

भिडिओ हेर्नुहाेस् …

म्याग्दीमा पहिलो पटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गरिएको हो । संयोजक बिक्रम सुवेदीले आमन्त्रित खेलमा तोकिएका क्लवहरुको मात्र प्रतिनिधित्व हुने बताउनुभयो ।म्याग्दीका ८ र जलजला गाउँपालिका वारी बेनीको उत्साही समूह र विकु फ्यामिलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । कालीपुल, एभरग्रिन, दोभान, वौद्ध, मनसुन, अर्थुङ्गे युनाइटेड, रिभरसाइड, जनप्रिय भूपु र पश्चिम दरवाङ युवा क्लवको सहभागिता हुनेछ् ।

प्रतियोगितामा विजेता र उपविजेतालाई कप, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद एक लाख १५ हजार रुपैयाँ र ७० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर, स्ट्राइकर, अनुशाषित टिमलाई पुरस्कार तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरिने जिल्ला फुटबल संघ म्याग्दीका सचिव कुमार बानियाँले बताउनुभयो । टिम दर्ता शूल्क प्रति क्लव २० हजार रुपैयाँ र दुई हजार रुपैयाँ घरौटी तोकिएको छ ।

लिग प्रणालीमा खेलाउँदा प्रतिभा पहिचान गर्न सहज र खेलाडीले खेल्ने अवसर पाउने बताइएको छ । पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले लिग प्रतियोगिता म्याग्दीको फुटबल क्षेत्रमा कोशेढुंगा सावित हुने बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यताका लागि समेत अव तिब्र गतिमा काम हुने विश्वकर्माले बताउनुभयो । प्रतियोगिताका कुल १० लाख आर्थिक संकलन गरी प्रतियोगिताको समापन लगत्तै अर्कोपटकको आयोजकलाई खेलबाट बचत भएको आर्थिक सहित जिम्मेबारी हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

विगतमा एन्फाको सदस्य बन्न म्याग्दीबाट गरिएको प्रयासहरू विभिन्न अवरोध र तयारीमा भएको कमीले असफल भएकाले यसपटक लिग प्रतियोगितामा आवद्ध भएका क्लवलाई समेटेर थप प्रक्रियामा समेत जाने तयारी भइरहेको छ ।प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवम् बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकी लगायत क्लवका पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार