दिच्याममा १०९ बर्षिय निउरे र १०० बर्षिय रोकाद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । शुक्रबार दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय भक्तबिर रोकाले पनि राष्ट्रिय परिचयपत्रका विवरण दर्ता गराउनुभएको छ ।

बृद्धहरु निउरे र रोकाले शिविरमै पुगेर सेवा लिनुभएको गाउँपालिका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, आइतबार सम्पन्न शिविरमा वडाभित्रका १५५८ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । दिच्यामममा वडा सदस्य नगेन्द्र निउरे लगायत वडा र गाउँपालिका कर्मचारीहरुले सेवा दिएका थिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान सुरु भएको थियो ।वडास्तरमा सञ्चालित शिविरमा अहिले दर्ताका लागि आउनेको संख्या दिनप्रतिदिन बढेको छ । अभियानमा पूर्णरुपमा अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् ।

विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोली म्याग्दीमा छन् । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तका अनुसार अहिलेसम्म बेनी निगरपालिकामा शिविर सम्पन्न भएको छ भने मालिका र मंगला गाउँपालिमामा अन्तिम चरणमा रहेका छन् । चैत १ गतेदेखि धवलागिरीमा शिविर सुचारु हुने प्रशासनले जनाएको छ । सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार