प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको हो।

गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

पहिलो पटक नेकपा (एमाले)लगायतका दलहरूको समर्थनमा सरकार बनाउनुभएका प्रचण्डले सदनमा उपस्थित सङ्ख्याको झन्डै ९९ प्रतिशत सांसदको विश्वास मत पाउनुभएको थियो। तर एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमालेलगायतका केही दलको मत नपाउने अवस्था छ। प्रमुख प्रतिपक्षी दल एमालेले विश्वासको मतबारे संस्थागत निर्णय गरिसकेको छैन। तर नेताहरूले भने मत नदिने बताउँदै आएका छन्। सरकारबाट बाहिरिएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

उहाँलाई नेकपा माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत ११ दलले समर्थन जनाएका छन् । गठबन्धनमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाएपछि समर्थन गर्ने दलको संख्या ११ पुगेको हो । विश्वासको मत लिएपछि सरकार विस्तारको योजना प्रधानमन्त्रीले बनाउनुभएको छ । उहाँले अबको केही दिनमा सरकारले पूर्णता पाउने यसअघि नै बताइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार