रेडक्रस भकिम्ली उपशाखाको अध्यक्षमा घर्ती

  धु्रवसागर शर्मा

म्याग्दी । ‘म सेवा गर्छु’ भन्ने स्लोगनको व्यानर सहित नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले उपसभापतिमा जमुना रोका,सचिवमा भोजबहादुर जिसी,कोषाध्यक्षमा पूर्णिमा जिसी,उपसचिवमा मनवहादुर पुन र उपकोषाध्यक्षमा टीका रानालाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सरस्वती सापकोटा,क्या.जसबहादुर पुन,रुद्रबहादुर श्रीष,शेरबहादुर विक र गेमबहादुर घर्ती चयन हुनुभएको छ ।नेपाल रेडक्रस सोसाईटी म्याग्दीका अध्यक्ष अमर बानियाँले व्यानर वाचन र बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदमबहादुर पुनले मैनवत्ति प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा २०६० साल चैत ७ गते बेनी आक्रमणका क्रममा घाइते र मृत्यु भएकाहरुको उद्धारमा रेडक्रसले खेलेको भूमिका,हिरासतमा रहँदा वा अपहरणमा पर्दा अन्तराष्ट्रिय रेडक्रस आइसिआरसिले गरेको सहयोगदेखि लिएर वैसरी पहिरो ,कोरोना काल लगाएतका विपद्जन्य परिस्थिति र मानवीय सेवाका क्षेत्रमा रेडक्रसले गरेका कामहरुको चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको रेडक्रसमा आवद्ध हुन पाउँदा गौरवान्वित हुनुपर्ने बताउनुभयो । सेवाको भावना स्वतस्फूर्त रुपमा मनमा नआएसम्म मानवीय कार्यमा लाग्न नसकिने बताउँदै सभापति बानियाँले अरुको उपकार र समाजको सेवाका लागि बाँच्नसक्नु नै सच्चा जिन्दगी हो भन्नुभयो । उहाँले २०६० सालमा भएको बेनी भिडन्तका क्रममा घाइते र मृतकको उद्धारका लागि रेडक्रसको झण्डा बोकेर अग्रपंक्तिमा निस्कदा भोगेका अनुभवहरु सुनाउँदा कार्यक्रममा सन्नाटा छाएको थियो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदमबहादुर पुनले द्धन्द्ध कालमा आफूँ सेनाको हिरासतमा रहदा अन्तराष्ट्रिय रेडक्रस र म्याग्दी रेडक्रसले गरेको सहयोगको स्मरण गर्नुभयो । उहाँले रेडक्रस मानवीय सहयोगका लागि स्थापित निश्पक्ष संस्था भएकोले राजनीति पूर्वाग्रहको गन्ध आउन नहुने बताउँदै राजनीतिक विचार जेजुकै भए पनि रेडक्रसमा समेटिए पछि तटस्थ रहेर मानवीय सेवामा समर्पित हुनसक्नुपर्छ भन्नुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका उपकोषाध्यक्ष शिव वानियाँले रेडक्रसमा आवद्ध सदस्यहरुको भूमिका र सक्रियताले संस्थाको गरिमा उच्च भएको बताउँदै धन सम्पत्ति कमाउनुमात्रै जीवनको सार्थकता नभएर मानवीय सेवामा लाग्नु र अरुलाई सहयोग गर्नु नै उत्कृष्ट जीवन हो भन्नुभयो ।

रेडक्रस भकिम्लीका निवर्तमान सभापति दुर्गाराम सुवेदीले उपशाखा भकिम्लीको अवस्था र विभिन्न प्रकोपजन्य परिस्थितिमा रेडक्रस उपशाखाले गरेका कामहरुको जानकारी गराउनुभएको थियो ।सोही अवसरमा दुर्गाराम सुवेदी,डेकबहादुर घर्ती मगर, भोजबहादुर जिसी, जमुना रोका, कर्णबहादुर सुवेदी,रत्नबहादुर जिसी,क्या.जसबहादुर पुन, खिमबहादुर छन्त्याल,रेशमबहादुर छन्त्याल, पूर्णिमा जिसी र दिलबहादुर सापकोटा लगाएत ११ जना व्यक्तिहरुले स्वतस्फुर्त रुपमा रु २५ हजार सहयोग गरी विशिष्ट सदस्यता लिनुभएको थियो ।

निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष एवम् निर्वाचन अधिकृत शिव बानियाँले पर्यटकीय स्थल बेलढुङ्गामा सपथग्रहण सहित प्रमाणपत्र र आयोजक उपशाखाको निवर्तमान सभापति सुवेदीले अतिथीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार