प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपािलका –१,स्थित बेग स्थित महादेव माविको पुननिर्माण भएको भवनको शुक्रबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले उद्घाटन गर्नुभएको हो ।

पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण अभियान अन्तर्गत विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा भवन पुननिर्माण समितिले आयोजना गरेको समारोहमा बाजागाजा सहित पुननिर्मित भवनको उद्घाटन गरिएको थियो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलाबासीहरु बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका थिए । अभियानको क्रममा १ करोड ५० लाख रुपैयाँ सहयोग संकलन गरेर विद्यालयको ७ वटा कोठाको भवन पुननिर्माण गरिएको भवन पुननिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो ।‘यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताहरुले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिड लगायतका विविध कारणले भवन निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, भवन निर्माण केही समय अघि नै भएपनि प्रवासबाट गृहगाउँ आएर औपचारिक रुपमा भवन हस्तान्तरणमा ढिलाई भएको हो, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलाबासीको एकता र सहकार्यले जिर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो’,फगामीले भन्नुभयो ।

विद्यालयमा इन्द्रबहादुर पुर्जा, पदमबहादुर पुर्जा र यमकुमार पुर्जाका तीन दाजुभाईका परिवारले करिब १४ लाख रुपैयाँ लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिनुभएको छ । सहयोगदाताहरुले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जिर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुननिर्माण अभियानका सचिब नगेन्द्र पुर्जा (नक्कु)ले जानकारी दिनुभयो । अभियानमा आर्थिक सहयोग गर्ने दाताहरुको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।

विद्यालयमा बेगखोलाबासीले चन्दा संकलन गरेर निर्माण गरेको ७ कोठे कक्षाकोठा भवन बाहेक पुननिर्माण प्राधिकरणको शिक्षा इकाई मार्फत ३४ लाख रुपैयाँ लगानीमा ३ कोठे र ६० लाख लगानीमा ४ कोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक दुतबहादुर गर्वुजाले जानकारी दिनुभयो । प्रवासी बेगखोलाबासीको नेतृत्वमा आर्थिक संकलन गरेर र सरकारी तवरवाट समेत गरि कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठन समेत सहज भएको प्रअ गर्वुजाले बताउनुभयो । यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर बिषयको समेत पठनपाठन गराउँदै आएको छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले देश तथा विदेशमा रहेका स्थानीयबासीले विद्यालयको भवन पुननिर्माण गर्नुले विकासमा सरकार र समुदायको साझेदारीको नयाँ सन्देश दिएको बताउनुभयो । उहाँले विद्यालयमा थप संरचना निर्माण गर्न स्थानीय ,प्रदेश र संघिय सरकार विच सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।प्रदेश सभा सदस्यद्धय भण्डारी र गौचनले भौतिक पूर्वाधार शैक्षिक विकासको महत्वपूर्ण पाटो रहेको भन्दै भवनको उचित प्रयोगसंगै विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजनामा आबश्यक पहल गर्ने बताउनभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, नेपाली काँग्रेसका नेता चिरञ्जीवि शर्मा, तत्कालिन स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल , कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्र (क)का सभापति ओम छन्त्याल , भुपु विद्यार्थी टिका पुर्जा ,बेगखोला कल्याणकारी समाज उपशाखा हङकङका पुर्व अध्यक्ष गिरी शेरपुञ्जा ,कांग्रेस नेता मुकुन्द छन्त्याल ,वडा अध्यक्ष बिलबहादुर फगामी, एमाले रघुगंगा सचिव झलक आचार्य ,बेगखोला कल्याणकारी समाज उपशाखा युकेका अध्यक्ष युबहादुर गर्बुजा र सचिव नगेन्द्र पाइजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र थापा सहित विभिन्न देशमा रहेका बेगखोला कल्याणकारी समाजको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरु समेतले विद्यालयको विगत र वर्तमानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बेगखोला(इतिहासः हिजो र आज) नामक पुस्तक समेत लोकार्पण गरिएको थियो भने विविध साँस्कृतिक र साँगेतिक प्रस्तुती समेत राखिएको थियो । विद्यालय भवन पुननिर्माण समितिका संयोजक फगामीको अध्यक्षता, प्रअ गर्वुजाको स्वागत र नगेन्द्र पुर्जा तथा खिमबहादुर फगामीको सञ्चालनमा सम्पन्न भएको थियो । रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि बिदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलाबासीहरुले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् ।

कार्यक्रममा बेगखोला कल्याणकारी समाज उपशाखा युकेका सचिव नगेन्द्र पाइजाले दुई जना टविना पाइजा र सुरेश चोचाङ्गीलाई आर्थिक सहयोग गर्नुभएको थियो भने ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । हाल क्यानडामा रहनुभएका सोमबहादुर पुनले मामा दलबहादुर पुर्जाको स्मृतीमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । सुवेदार तुलबहादुर गर्बुजाले आमा धनमाया स्मृती छात्रवृत्री कोष स्थापना गर्नुभएको छ । भने बेगखोला कल्याणकारी समाज उपशाखा युकेका संस्थापक अध्यक्ष पदमबहादुर पुर्जाले २२७ वटा टाई वितरण गर्नुभएको थियो । यसैगरी विद्यालय पुननिर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ । कार्यक्रम शनिबार समापन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार