बेनीलाई २०८२ वैशाख मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनीन नगरपालिकालाई आगामी दुई बर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनीलाई आगामी २०८२ वैशाख मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना र बेनी नगरपालिकाको समन्वयमा सम्पन्न बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले  नगरपालिकाले ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई आगामी २०८२ वैशाख मसान्त सम्म बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका जनप्रतिधि ,राजनितिक दल ,नगरपालिकाका विषयगत शाखा समिति ,सेवा प्रदायक सामाजिक संघ संस्था ,विद्यालयका प्रअ,स्वास्थ्य संस्था ,बालक्लबका प्रतिनिधि लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता थियो ।

बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाका लागि नगरपालिकाले प्रक्रिया थाल्ने नगरप्रमुख केसीले बताउनुभयो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार नगरपालिकाले ५१ वटा सुचक पुरा गर्नुपर्छ । यस निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।

स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य निर्देशिकाको छ ।कार्यक्रममा बेनी नगरउपप्रमुख ज्योती लामिछानेले नगरपालिकाले धेरै सुचकहरु पुरा गरेको र बाँकी योजनाहरु प्रक्रियागत रुपमा बढाउनुपर्ने देखिएको बताउनुभयो । उहाँले स्थानीय व्यक्ति, परिवार, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, स्थानीय संघसंस्था तथा वडा सबै बाल अधिकारप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकाको प्रगतिका  बारेमा जानकारी गराउनुभएको थियो ।

सामाजिक विकास कार्यालयका नायव सुब्बा गोविन्द पुनले संचालन गर्नुभएको कार्यक्रममा कार्यालय प्रमुख रमेश थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख थापाले ८० प्रतिशत सुचक पुरा गरेपछि बालमैत्री नगर घोषणा गर्न सकिने बताउनुभयो । बिद्यालयमा बालमैत्री शौचालय, भौतिक संरचना निर्माण गर्ने, बालमैत्री शिक्षणसिकाई गर्ने, वडा नागरिक मञ्चले बालबिवाह रोक्न भमिका खेल्ने,वडा नागरिक मञ्चमा बाल क्लवको अर्थपूर्ण सहभागिता गराउन पहल गर्ने, आमा समुह तथा बन समुहका बालमैत्रीका बिषयमा छलफल चलाउने लगायतका कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले ५१ वटा सुचकहरु पुरा गर्न सबै क्षेत्रबाट संवेदनशिल र जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद अध्यक्ष बद्रीप्रसाद वाग्लेले प्रशिक्षण गराउनुभएको थियो । यसैगरी शुक्रबार मालिका गाउँपालिकामा पनि सोही अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मालिकालाई २०८२ चैत मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार