बेनी नगरपालिकामा बेथितिको चाङ,खाना र खाजामै ४० लाख खर्च

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले एक आर्थिक वर्षमा ४० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयले अघिल्लो आर्थिक वर्षमा ४० लाख रुपैयाँ खाना खाजामा खर्च गरेको महालेखापरीक्षकले औंल्याएको छ । यसले नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल नै अनियमिततामा मुछिनुभएको छ ।

कार्यालयमा हाजिर गरेर भत्ता बुझेको र असूल उपर गर्नुपर्ने महालेखापरीक्षकको अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा औंल्याएको छ । ढकाल मात्र होइन नगरपालिकाका केही कर्मचारीहरु अनियमिततामा मुछिएका छन् ।नगरमा बेरुजु नियन्त्रण गर्ने,असूलउपर गर्ने,आर्थिक प्रशासनलाई पारदर्शी बनाउने र नियमन गर्ने मुख्य जिम्मेवार पदमा रहेका प्रमुख प्रशासकीय अधिकृत नै आर्थिक अनियमितताको विवादमा मुछिएका हुन । महालेखापरीक्षकको प्रतिवेदनले बेनी नगरपालिकामा थुप्रै अनियमिततालाई उजागर गरिदिएको छ ।

याे पनि…

बेनी नगरका कर्मचारीकाे बदमासी : कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

महालेखाको प्रतिवेदन अनुसार बेनी नगरमा अघिल्लो आर्थिक वर्षमा खाना,खाजा र विविध खर्चमा ३९ लाख ९४ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने महालेखाले सुझाएको छ । नगरका हाकीम र लेखाका कर्मचारीको मेलेमतोमा होटलबाट फर्जी विल बनाई भुक्तानी गरेको देखिएको छ ।

नगरपालिकाका कुनै पनि कार्यक्रम र बैठकमा खाजा र खाना नलैजाने बेनीको एक होटलका नाममा गत वर्ष एकलाख भन्दा बढीको चेक काटिएको फेला परेको छ । बेनी नगरका एक जनप्रतिनिधिले भन्नुभयाे , ‘‘उक्त होटलबाट नगरमा हुने कार्यक्रम,वैठक कुनै पनि खाजा वा खाना लैजाने गरिएको देखिएको छैन तर गत असारमा उक्त होटललाई एकलाख भन्दा बढी रकम भुक्तानी गरेको देखियो ।’’ खाना र विविध खर्चमा नगरको अस्वभाविक खर्च देखिएको ति जनप्रतिनिधिले बताउनुभयाे ।

यसैगरी स्वास्थ्यकर्मीहरुको लागि पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रमको बजेटबाट खोप अनुगमन भनी २०७८ कार्तिक ११ देखि १८ गते सम्म सञ्चालित स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रमको बजेट २०७८ साउन,भदौं,कार्तिक,मंसिर र पुस महिनाको खोप अनुगमनमा गएको भनी भ्रमण भत्ता भुक्तानी भएको ८८ हजार रुपियाँ समेत असुल उपर गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै महालेखाको प्रतिवेदनमा नगरपालिकाले खरिद गरेको औषधिमा समेत प्रश्न गरेको छ । नगरपालिकाले शसर्त चालुबाट अघिल्लो आर्थिक वर्षमा पटक पटक गरी १९ लाख ७ हजार ७ सय ६६ रुपैयाँको औषधि सोझै खरिदको माध्यमबाट खरिद गरी चिराग फार्मेशी पोखरालाई भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले उक्त खरिद भएको औषधि डब्लु.एच.ओ सर्टिफाइड हुनुपर्नेमा नभएको,औषधिको उत्पादन मिति,ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मचुल्का उठाई राख्ने नगरेको र उक्त औषधि विक्रीको लागि होइन भन्ने ब्यहोरा खुलाएको प्रमाण समावेश नभएको भनि प्रतिवेदनमा उल्लेख गरेको छ ।यसैगरी प्रतिवेदनमा किसानलाई वितरण गर्नुपर्ने बर्खे फलफुलका बेर्नाहरु नगरपालिकाका ९ जना कर्मचारीलाई वितरण गर्नु व्यवहारिक र न्यायसम्मत नदेखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार