धवलागिरी गाउँपालिकामा दिर्घरोगीको घरघरमा अध्यक्ष (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले आइतबारदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका दिर्घरोगीहरुलाई घरदैलोमै औषधी उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

साथै उहाँले गाउँपालिकाले वडा नम्बर १ गुर्जामा सडक ल्याउन प्राथमिकता दिएको जानकारी गराउनुभयो । गुर्जा जोड्ने सडक निर्माण गर्न संघीय सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट २ करोड र गाउँपालिकाले २ करोड गरी ४ करोड रुपैयाँ बजेटको व्यवस्था भएको बताउनुभयो । ‘भौगोलिक रुपमा विकट गुर्जालाई अन्य वडालाई भन्दा गाउँपालिकाले प्राथमिकता दिएको छ ,’अध्यक्ष पुनले भन्नुभयो ,‘गाउँपालिकाको केन्द्र मुनादेखि गुर्जासम्म सडक निर्माणलाई पुर्णता दिन आगामी आर्थिक वर्षको लागि बजेटको व्यवस्था गरिएको छ । ’

कार्यक्रम मार्फत सबै वडा र बस्तीबाट नियमित औषधी सेवन गरिरहेका दिर्घरोगीहरुको विवरण संकलन गरिएको छ ।दिर्घरोगी र उनीहरुले सेवन गर्ने औषधीको विवरण संकलन गर्न सात वटै वडामा घरभेट गर्ने कार्यक्रम छ । वडा नम्बर १ गुर्जामा आइतबार दर्घिरोगीहरुसँग भेटघाट गरिएको छ । सोही अवसरमा पाठेघर क्यान्सरको स्क्रिनिङ शिविर समेत सञ्चालन गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष झकबहादुर छन्त्याल लगायत स्वास्थ्यकर्मी ,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार