जनगणनाअनुसार म्याग्दीको प्रमुख नतिजा सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरिएको हो ।

२०७८ सालमा गरिएको म्याग्दी जिल्लाको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकोमा त्यतिबेला कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । अहिले ०७८ सालको जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार ३ दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनाको सार्वजनिक नतिजाअनुसार म्याग्दीमा साक्षरतादर कुल ७९ दशमलव ७० प्रतिशत रहेकोमा पुरुष ८७ दशमलव ७१ प्रतिशत र महिला ७२ दशमलव १८ प्रतिशत रहेका छन् । जनगणनामा अनुपस्थित (अस्कर विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकोमा जनसंख्यामा भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष ८ हजार ९ सय ६१ जना र महिला १८ सय ५ जना रहेकोमा कुल जनसंख्याको शुन्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । कुल जनसंख्यामध्ये ५ हजार १ सय ५ जना अपाङ्गता भएकोमा पुरुष २७ सय १० र महिला २३ सय ९५ जना रहेका छन् ।

त्यसैगरी कुल जनसंख्याको पालिकातर्फ सबैभन्दा धेरै बेनी नगरपालिकामा र सबैभन्दा कम अन्नपूर्ण गाउँपालिकामा रहेको छ । जसमध्ये बेनीमा ३२ हजार ६ सय ९७ जनसंख्या रहेको छ भने मालिका गाउँपालिकामा १८ हजार ३ सय ३२ रहेको छ । मंगला गाउँपालिकामा १४ हजार ६ सय ८८ जनसंख्या रहेकोमा रघुगंगामा १४ हजार १ सय १४ जनसंख्या रहेको छ भने अन्नपूर्णमा १२ हजार ३ सय २३ जनसंख्या रहेको तथ्याङ्क कार्यालय बागलुङका तथ्याङ्क अधिकृत चन्द्रकान्त सुवेदीले बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत निराजन शर्माले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सार्वजनिक भएको म्याग्दीको जनसंख्याको तथ्याङ्कले आगामी दिनमा नीति, कार्यक्रम र योजना तर्जुमा गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षता र तत्कालीन म्याग्दीका जनगणना अधिकृत घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार