पहिलो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

  धनिलाल गर्बुजा

गलेश्वर । प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले व्रतालु बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् ।

साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाका रूपमा मानिने भएकोले  पहिलो सोमबारका दिन विहानैदेखि भक्तजनको चहलपहल बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मलीले बताउनुभयो । उहाँका अनुसार म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत साथै कास्की, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट दर्शनका लागि भक्तजन आएको जानकारी दिनु भयो ।

गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्नका लागि हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका महिला तथा युवायुवतीहरु मन्दिरलाई पृष्टभूमी पारेर टिकटक सेल्फी र फोटो खिच्नका लागि उत्साहित देखिएका थिए ।

कालीगण्डकी नदीको किनारमा ९ रोपनी चट्टानमाथि रहेको गलेश्वर मन्दीरमा शिवको पुजा गर्न आउने भक्तजनलाई ब्यवस्थित रुपमा पुजा गराउन गलेश्वर क्षेत्र विकास कोष, स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत बिभिन्न सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर उपसमिति बनाइएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । ‘कालिगण्डकी नदीबाट पम्पिङ गरेर तानिएको पानिलाई २५ हजार लिटर क्षमताको ओभरहेड टंकीमा संकलन गरेर धारामा भक्तजनलाई स्नान गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नु भयो ‘मन्दिरमा दर्शनपछि एक सय ८ शिवलिङ्गमा जल र बेलपत्र चढाउनका लागि पनि भक्तजनहरु उत्साहसाथ सहभागी भएका छन ।’

हरेक वर्ष साउन महिनाको सोमबार तथा महाशिवरात्रि र बालाचतुर्दशीमा गलेश्वर शिव मन्दिरमा पुजाअर्चना र दर्शनका लागि  भक्तजनको भीड लाग्ने  गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार