धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

  म्याग्दी न्युज संवाददाता

बेनी। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् ।बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा÷स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको टोली परिचालन गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा नम्बर ३ का अध्यक्ष देवेन्द्र रोका लगायतको टोली औषधी सहित करिब दुई दिन जंगलमा पैदलयात्रा गरेर ढोरपाटन शिकार आरक्ष नजिकैको बुकीमा पुगेको हो ।जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको चार वटा टोली रुवाचौर, नौतले, जलजला र धन्समानेको बुकीको गोठमा परिचालन भएको टोलीमा सहभागि धवलागिरी गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले जानकारी दिनुभयो ।“बर्खामा चरनका लागि बुकीमा लगेका गाइगोरु धमाधम बिरामी परेका र केही मरेका खबर आएपछि औषधी ल्याएर बुकीका खर्कमा आएका हौ,” गाउँपालिकाका उपाध्यक्ष पुनले भन्नुभयो “धवलागिरी गाउँपालिकाका कृषकहरुको सबै गोठमा पुगेर बिरामी पशुको उपचार गरेर फर्कन्छौ ।”

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने लुलाङ, खोरीया, लमसुङ, मुना, फलियागाउँ, दरका कृषकहरुले बर्खामा चरणका लागि गाई, गोरु, भैसी, भेडा लिएर समुन्द्रि सतहदेखि तीन हजार मिटर भन्दा बढी उचाइमा रहेका बुकीमा गोठ लगेका छन् । बुकीमा लम्पी स्कीन महामारीको रुपमा फैलिएपछि नियन्त्रण गर्न गाउँपालिकाको टोली त्यहाँ गएको हो ।लम्पी स्किनबाट बिरामी गाईगोरुको उपचारका लागि गाउँपालिकाले औषधी खरिद गरेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन बिरुद्धको भ्याक्सीन र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले औषधी उपलब्ध गराएको थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले अन्य वडामा पनि औषधी सहित प्राविधिकहरुलाई गोठ गोठमा परिचालन गरिएको बताउनुभयो । ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् ।यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । लम्पी स्किनका कारण गाईभैसी बिरामी पर्दा दुध उत्पादन घटेको छ । गोरु बिरामी हुँदा धान रोपाई लगायत खेतीबाली लगाउने काम प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार