पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)

म्याग्दी । पुर्व सांसद तथा दश वर्ष अघिसम्म तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर गमबहादुर श्रीस मगर राजनीति संगै केही वर्षयता कषि व्यवसायमा सक्रिय हुनुहुन्छ । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन उहाँ कृषि पेशामा लाग्नुभएको छ । आजभोली उहाँको दैनिकी जन्म गाउँ बरंजामा बाख्रा स्याहारसुसारमा बित्ने गरेको छ ।

भिडिओ हेर्नुहाेस्…

म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाका श्रीस मगर २०७० सालसम्म पार्टीको पूर्णकालीन कार्यकर्ताका भएर राजनीतिमा सक्रिय हुनुभयो । पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो । लोकतन्त्र प्राप्तिपछिको नेकपा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद सदस्य र पहिलो संविधान सभामा समानुपातिक सदस्य बन्नुभयो । खुट्टामा चप्पल ,हाफ कट्टु र प्राय गञ्जीमा देखिने दुई पटक सांसद बनिसक्नुभएका श्रीस मगरको साधारण जीवन शैलीबाट प्रभावित हुने सबै उहाँले कृषि पेशामा गरेको परिश्रम र लगावले पनि दङ्ग छन्।

@myagdinews

बाख्रा पालन व्यवसायमा रमाउँदै पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर #myagdinews #malikapress #myagdinewstoday

♬ original sound – myagdinews – myagdinews

नेकपा माओवादी विभाजन नहुँदासम्म उहाँ मगरात राज्य समितिको सचिवालय सदस्यको जिम्मेवारीसम्म पुग्नुभएको थियो। माओवादीबाट मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भएपछि उहाँ वैद्यले नेतृत्व गर्नुभएको माओवादीमा क्रियाशील हुनुभयो । पछि नेत्रविक्रिम चन्द (विप्लव) को पार्टीमा लाग्नुभयो । विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा (माओवादी) पार्टीमा आबद्ध हुनुभएको थियो। २०५८ सालदेखि उहाँ भूमिगत हुनुभयो । उहाँको क्षमतालाई देखेर जिल्लावासीले भविश्यको नेताको रुपमा लिने गर्थे । तर,श्रीस आजभोली नमुना कृषकको रुपमा कृषि पेशामा सक्रिय हुनुहुन्छ ।

२०७० सालदेखि व्यवसाय सुरुवात गर्न खोजिएको भएपनि विस्तार गर्न नसकिएको उहाँको भनाइ छ । रोजगारीका अवसर खोज्दै दैनिक हजारौं युवा विदेश पलायन भइरहेको समयमा स्वदेशमै परिश्रम र लगानी गर्न सके बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाउनुभएको छ उहाँले । ‘म अहिले पार्टीको कार्यकारी पदमा छैन । समय र परिस्थिति बदलिएको छ । त्यति बेला पार्टीलाई आवश्यक प¥यो, पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लागियो। आफ्नो पेशातिर फर्किएँ तर पार्टी र विचार भने छाडेको छैन। अहिले राजनीतिलाई समय दिन सकिएन ,’उहाँले भन्नुभयो ।

बागलुङको ताराखोलाबाट एक लाख तीन हजार रुपैयाँमा बाख्रा किनेर व्यवसाय सुरुवात गर्नुभएका श्रीस मगरको फर्ममा अहिले खरी जातका दश वटा बोका ,अन्य माउ बाख्रा र पाठीहरु गरी ३० वटा छन् । पर्याप्त चरण क्षेत्र हुने हो भने बाख्रा पालक किसानलाई थप सहज हुने उहाँको भनाइ छ । श्रीस मगरले खाली जमिनमा बाख्राको लागि डाले र भुई घाँस लगाउनुभएको छ ।यो पेशाबाट आफुलाई सन्तुष्ट मिलेको उहाँ बताउनुहुन्छ ।

अहिले मानिसहरु फार्म खोज्दै आउने भएकोले उहाँले पाठापाठी, बोका र बाख्रा बिक्रि गर्न टाढा लैजानु नपरेको बताउनुभयो । गत वर्ष मात्रै उहाँले बाख्रा र पाठापाठी बिक्री गरेर ८६ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ । व्यवस्थित खोर र संरचना बनाउँदा अहिलेसम्म करिब पाँच लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । खोर निर्माणका लागि गत वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट डेढ लाख रुपियाँ अनुदान पाएको उहाँको भनाइ छ । पुर्व सांसद श्रीस मगरले बाख्रा पालन व्यवसायलाई आगामी दिनमा थप विस्तार गर्ने योजना सुनाउनुभयो । ‘घाँस खाने त्यस माथि बजारको समस्या नहुने भएकोले बाख्रा पालन व्यवसाय सहज लागेको छ ,’ उहाँले भन्नुभयो ,‘राजनितिलाई सक्रिय बनाउनुका साथै यो व्यवसायलाई पनि थप विस्तार गर्ने योजना बनाएको छु ।’

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार