माओवादी केन्द्रको म्याग्दी इञ्चार्जमा पर्वतका गप्तबहादुर हमाल

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) म्याग्दीको इञ्चार्जको जिम्मेवारी पर्वतका गुप्तबहादुर हमाललाई दिएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको माओवादीले म्याग्दी सहित गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूर्ण बैठकले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै माओवादीको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।

सोहि अभियानलाई लक्षित गरेरे जिल्ला र पालिका ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।वर्षौंदेखि एकै व्यक्ति एउटै जिल्लामा रहँदा पार्टीमा गुट उपगुट मौलाएको र सोहि कारण नेता कार्यकर्तामा उत्साह आउन नसकेको भन्दै कार्यकर्ताले गुनासो गर्ने गरेका थिए । कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङलाई स्याङ्जा जिल्ला ईञ्चार्ज तोकेको छ । उहाँको ठाउँमा पर्वतका नेत्रनाथ अधिकारीलाई ल्याइएको छ । अधिकारी गण्डकी प्रदेशका पूर्व सभामुख तथा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । पोखरा महानगरपालिका ईञ्चार्ज दीपक कोईरालालाई माओवादीले गोरखा जिल्ला ईञ्चार्ज बनाएर पठाएको छ ।

माओवादीले बागलुङकी बलावती शर्मालाई पर्वत जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ भने स्याङ्जा जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरेलाई तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ । माओवादीले तनहुँकी आशा खनाललाई लमजुङ जिल्ला ईञ्चार्ज बनाएको छ ।यसैगरी, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा कास्कीका अमर तमु, बागलुङमा गोविन्द पौडेल र मुस्ताङमा कपिल लामालाई जिल्ला ईञ्चार्ज बनाएको छ । माओवादीले प्रत्येक जिल्ला ईञ्चार्जलाई सो जिल्लाको कुनै एउटा पालिकाको ईञ्जार्जको जिम्मेवारीपनि सुम्पेको छ ।

बैठकले प्रदेशका सबै जिल्ला हेर्ने जिम्मेवारी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेललाई तोकेको छ भने केन्द्रीय सदस्य यशोदा सुवेदीलाई नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला तथा हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जा जिल्ला हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरेर प्रदेश अध्यक्ष गायत्री गुरुङलाई जातीय मोर्चाको जिम्मेवारी तोकेको छ भने अटिन्द्र केशरी न्यौपानेलाई कार्यालयसँगै प्रेस सेन्टर गण्डकीको फ्रयाक्सन ईञ्चार्ज तोकेको जनाइएको छ ।माओवादीले जिल्ला ईञ्चार्जसँगै प्रदेशका सबै पालिका तथा वडाहरुको ईञ्जार्चको जिम्मेवारीपनि हेरफेर गरेको छ । जस अनुसार कास्कीको पोखरा महानगरपालिकाको ईञ्चार्ज स्याङ्जा जिल्ला ईञ्चार्ज पारसमणी पौडेललाई दिइएको छ ।

माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक सुलिकोट वडा नं ८ मा जाने हुनुभएको छ । प्रचण्ड पुग्ने वडा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो । माओवादीले प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएर फिल्डमा खटाउने निर्णय गरेको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार