एकमहिने बर्खे नाच देखाउन सुरु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ ।

नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरु देखाउने प्रचलन छ । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचहरु मिलेर एकमहिने बर्खे नाच सुरु गरेको ल्याम्हस् पूचका सदस्य सज्जन श्रेष्ठले बताउनुभयो । उहाँले एक महिनाको अवधीमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने बताउनुभयो ।

तीन सय वर्ष पुरानो खम्पर (मुखौटो) लगाएर ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ । बर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खासगरी लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।नेवा समुदायको पुरानो कलासंस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरु मिलेर बजारमा लाखे नाच देखाईएको लयाम्हस्पूचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार