म्याग्दीमा प्रहरीले ‘गाँजा भनेर भाँगो नष्ट गर्यो’

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको ग्रामिण क्षेत्रमा प्रहरीले सुरू गरेको गाँजा नष्ट अभियानमा खानाका विभिन्न परिकारमा लोकप्रिय मानिने भाँगोका बोटलाई प्रहरीले गाँजा भनेर फडानी गरेको भन्दै स्थानीयले गाँजा र भाँगोको पहिचान गरी नष्ट गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।

जिल्लाका सबै स्थानीय तहका ग्रामिण क्षेत्रमा समुदायसँगको सहकार्यमा प्रहरीले गाँजा फडानी अभियान नै तिब्र बनाएपछि सर्वसाधारणको घरआगन, खेतबारीमा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेपछि सर्वसाधारणले भाँगोलाई समेत गाँजा खेती भन्दै प्रचार गरेकोमा असन्तुष्टी जनाएका छन् । ‘हामीले गाँजा खेती गरेका छैनौ, यो बषौंदेखि घरमा प्रयोग हुने भाँगो हो, ’बाहिर पनि बिक्री गर्दनौ’ एक सर्वसाधारणले भने ।

उनले गाँजाको बोट पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिने बताउँदै भाँगोको बोटको पहिचान र प्रयोगका बारेमा समेत प्रहरीमार्फत सचेतनामुलक अभियानलाई प्रभावकारी बनाउन अनुरोध समेत गरे । म्याग्दीमा यसपटक प्रहरीले करिब १ सय रोपनी सार्वजनिक तथा निजी जमिनमा रहेको गाँजा नष्ट गरेको जनाएको छ ।

यता  भाँगोको नाममा गाँजा बनाउन प्रयोग समेत भएको देखिएपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ । सार्वजनिक जमिनमा रहेको बोटलाई प्रयोगकर्ताले गाँजा सेवनको रुपमा प्रयोग गरेको बताउँदै गाँजा खेती नष्ट गर्ने अभियानमा साथ दिन प्रहरीले अनुरोध गरेको छ ।

वर्षेनी फडानी गर्दा र सचेतना दिँदा पनि प्रयोगकर्ता ह्वात्तै बढेकाले जिल्लाभरी अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीमा ब्यवसायिक गाँजा खेती नगरिएपनि ग्रामिण क्षेत्रबाट गाँजा बजारसम्म आउने र गाउँमै समेत गाँजाका सेवनकर्ताहरुको संख्या बढेको गुनासोपछि हरेक प्रहरी चौकमार्फत वडा र बस्तीसम्म पुगेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानूनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार