म्याग्दीमा गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइयो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। कांग्रेस म्याग्दीको आयोजनामा नेता सिंहको २६औँ स्मृति दिवस मनाइएको हो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको थियो।

पार्टी कार्यालयमा गणेशमान सिंहको तस्बिरमा माल्यार्पण गरिएकाे थियो। माल्यार्पण कार्यक्रममा कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताउनुभयो ।

हालसम्म प्राप्त राजनीतिक उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको भन्दै उहाँले कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो। गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष, त्याग, बलिदान, आदर्श समाज निर्माणका लागि लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चलाउन गरेको संघर्ष अनुकरणीय भएको उहाँले बताउनुभयो।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो। विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो। कार्यक्रममा प्रदेशसभा सदस्य सांसद बिमला गौचन ,उपसभापतिद्धय केबी भण्डारी र हरिकुमार श्रेष्ठ, निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सहसचिव श्रीराम पौड्यालले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार