वडा कार्यालय भवन निर्माण ,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन मगरले उद्घाटन गर्नुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । “यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलमा कार्यालय सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “वडाको आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हनेछ।” वि.स. २०७७ पुषमा भवन निर्माण शुरु भएको थियो ।

सामुदायिक भवन अघि आरसीयुपी परियोजनाले बनाएको भेटेरीनरीको भवनबाट वडा कार्यालय सञ्चालन भएको थियो । दुई चरणमा करिब रु. ६१ लाखको लागतमा भवन निर्माण सकिएको गाउँपालिकाले जनाएको छ । वि.स. २०७७ मा रु. ४७ लाखमा ठेक्का सम्झौता गरेको डोल्पो कन्ट्रक्सनले भवनको संरचना तयार पारेको थियो । पहिलो चरणमा भवन निर्माणका लागि जिल्ला समन्वय समितिले रु. तीस लाख सहयोग गरेको थियो । दोस्रो चरणमा २०७८ मा जयमा लक्ष्मी कन्ट्रक्सनसँग रु. १५ लाखमा भएको ठेक्का सम्झौता मार्फत पलास्टर, रंगरोगन, बिद्युत, पानी जडान लगायतको काम भएको थियो ।

फर्निचर व्यवस्थापन गरेर नयाँ भवनमा कार्यालय स्थानान्तरण गरिएको वडा सचिव तमबहादुर बिकले बताउनुुभयो । चार वटा कोठा रहेको भवनमा वडा अध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, सभाहल र बैठक कक्ष छन् । वडा कार्यालय भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुुवेदी, पुुर्व वडा अध्यक्ष कलानिधी शर्मा, अन्य वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो । गाउँपालिकाका अध्यक्ष पुन मगरले गाउँपालिका अध्यक्ष पुन मगरले भवन निर्माण भएपछी सेवाग्राहीलाई सहज हुने बताउनुभयाे । उहाँले पुर्वाधारकाे दिर्घकालीन  संरक्षण गर्नकाे लागि स्थानीयबासीकाे समेत दायीत्व भएकाे बताउनुभयाे । सेवा प्रवाहलाई सहज बनाउन प्रशासकीय सहित वडा र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । ताकम, मल्कवाङ र लुलाङमा वडा कार्यालय, गुर्जा र मुनामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । ताकममा अलपत्र रहेको पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पूूर्णता दिन व्यवसायिलाई ताकेता गरिएको बताउनुुभयो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार