गलेश्वरमा सतविज छर्नेको भिड

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज  छरिएकाे छ  । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न ठाउँबाट आएका भक्तजनको बिहानै देखि घुँइचो लागेको थियाे ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ पनि प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा सहभागी भई बालाचतुर्दशी पर्वको अवलोकन गर्नुभएको थियो । गलेश्वरधाम म्याग्दीको मात्रै नभएर राष्ट्रकै प्रसिद्ध धार्मिकस्थल भएकोले यस क्षेत्रको पूर्वाधार विकासका लागि विशेष प्राथमिकता दिएर प्रदेश र संघमा पहल गर्ने सांसद गर्बुजाले बताउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट हजारौँ भक्तजन आएका बताउनुभयो । पितृको स्मृतिमा आइतबार साँझदेखि रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनहरुले बिहानैदेखि शतबीज छर्न थालेका छन् । धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन रहेको छ । हेमाद्रि नामक धर्मग्रन्थमा भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने अध्यक्ष रेग्मीले  उल्लेख गर्नुभयो ।

बालाचतुर्दशी मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति परिचालन गरिएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो । ‘‘भक्तजनले छिटो र सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाएका छौँ,’’ उहाँले भन्नुभयो ,‘‘शतबीज छर्न धेरै ठाउँबाट ठुलो सङ्ख्यामा भक्तजन आएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न संस्थासँग समन्वय गरेका छौँ ।’’

यस पटक करिब ५० हजार भक्तजन आउने कोषको अनुमान छ । खेतीबाली भित्र्याउने र लगाउने काम सकिएको, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ । कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार